२१ असोज,काठमाडौं । त्रिभुवन विश्विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेलाई मंगलबार विश्वविद्यालय परिसरमा ३ जना युवाले कुटेर भागेका थिए ।
कुटपिटमा संलग्नहरुको पहिचान खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले बताए । उनले भने– ‘कुटपिटमा संलग्नको पहिचान खुलेको छ, छिट्टै पक्राउ गर्छौं ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराईरहेका उपप्राध्यापक चलाउनेको बुधवार कम्मर र गोलीगाँठोको भागमा मेजर अप्रेशन गर्नुपर्ने त्रिविका प्राध्यापक गुमनसिंह खत्रीर्ले बताए । उनको टाउकोको पनि एमआरआई हुँदैछ । कुटपिटमा संलग्न रहेको भन्दै उपप्राध्यापक चलाउनेका तर्फबाट त्रिभुवन विश्वविद्यालयका तीन जना नेताविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल र कर्णबहादुर थापाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताइएको छ । रावलले केही समयअघि त्रिविमा लगाएको ताला काटेमा ‘हात काट्छु’ भनेर विज्ञप्ति निकालेका थिए । उपप्राध्यापक चलाउनेलाई नेविसंघले थ्रेट गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस