काठमाडौं प्रहरीले त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका उप–प्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने समूहमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाएको छ । चलाउनेमाथि आक्रमण गर्ने समूहका रूपेश साह र रविनकुमार लामालाई पक्राउ गरेपछि सोमबार प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर अनुसन्धान अघि बढाएको हो ।
साह र लामालाई जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । साह र लामालाई प्रहरीले आइतबार साँझ भक्तपुर र सिरहाबाट पक्राउ गरेको थियो । उनीहरू दुवै जना सिरहाका बासिन्दा हुन् ।
चलाउनेलाई आक्रमण गर्ने साह र लामा पक्राउ परे पनि मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावलसहित अरु तीन जना भने अझैसम्म फरार छन् । फरार हुनेमा निरज राना मगर, अनिष आर्चाय, सयुस श्रेष्ठ छन् । उनीहरूविरुद्ध चलाउनेले सोमबार काठमाडौं प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन् ।
साह र लामाले मानस कोइरालाको नाममा रहेको बा८१प २७८५ नम्बरको बुटेल मोटरसाइकल लामाका आफन्तबाट मागेर चलाएका थिए । उक्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुरुमा केही सञ्चारमाध्यमले उक्त मोटरसाइकल अनुराधा कोइरालाका छोरा मनीष कोइरालाको भएको समाचार दिएका थिए ।
तर, उक्त मोटरसाइकल मनीषको नभई अर्कै व्यक्ति मानस कोइरालाको भएको, उनले पनि पक्राउ परेका रविनका आफन्तलाई बेचिसकेको तर लकडाउनका कारण नामसारी हुन बाँकी रहेको खुलेको थियो । त्यसरी नै घटनामा अर्को बा५६प ९८ नम्बरको सेतो स्कुटर पनि प्रयोग भएको चलाउनेले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेका छन् । चलाउनेमाथि २० असोजमा त्रिवि परिसरभित्रकै नेपाल बैंकअगाडि पैसा साट्न निस्केका बेला आक्रमण भएको थियो ।
कुटपिटमा परी गम्भीर घाइते भएका चलाउनेको हाल ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाँचिएको छ भने शरीरभरि नीलडाम छ ।
चलाउनेमाथि कुटपिटको योजना बनाउने मुख्य योजनाकार हरि आर्चाय र योगेन्द्र रावलले दुई वर्षअघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट भनेर आफैँले अर्को कार्यसमिति बनाएको गुनासो नविसंघकै केही नेताको छ । सिटौलानिकट त्रिवि विद्यार्थीका सभापति आचार्य र रावल सचिव हुन् ।
त्यसरी नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट विद्यार्थीका त्रिवि सभापति डा। श्यामचन्द्र अधिकारी छन् । हरिको समूहले १ भदौदेखि त्रिविमा प्राध्यपक नियुक्तको भागबन्डाको विषयलाई लिएर त्रिवि समाजशास्त्र विभागमा ताला लगाएको थियो ।
सोही ताला खोल्ने विषयमा क्याम्पस प्रशासनले हरि र रावललाई पटक–पटक छलफलका लागि बोलाउँदासमेत नआएपछि अदालतको स्टे अर्डर लिएर १४ असोजमा त्रिवि क्याम्पस प्रशासनले ताला खोलेको थियो । सोही ताला खोलेको विषयमा हरि समूह र प्राध्यापकबीच १४ गतेपछि विवाद हुँदै आएको थियो । सोही कारण आफूमाथि आक्रमण गरिएको चलाउनेको भनाइ छ ।
हरि र रावलसँग केही दिनअघिबाट नै सम्पर्क गर्न खोज्दा भने उनीहरूले प्रयोग गर्ने मोबाइल नम्बर अफ छ । उनीहरू कांग्रेसकै कुनै उच्च नेताको घरमा सेल्टर लिएर बसेको आशंका प्रहरीको छ ।
अर्जुननरसिंह केसीले भने उनीहरू आफ्नो घरमा नआएको जिकिर गरका छन् । यसअघि आफ्नो घरमा आचार्य र रावल लुकेको भनी प्रकाशित समाचारको उनले खण्डन गरेका छन् ।
ुपितृदेवो भव, गुरुदेवो भवः भन्ने संस्कार मान्ने हामी,केसीले भने, कसैले पनि गलत गरेको छ भने उनीहरूलाई संरक्षण गर्ने कुरै हुँदैन । उनीहरूलाई मैले लुकाएको छैन ।ु
प्रहरीको आशंकालाई अस्वीकार गर्दै चलाउनेमाथिको कुटपिटमा प्रहरीले गरेको अनुसन्धान र केही सञ्चारमाध्यममा आएका विषय कांग्रेसका केही नेता र पूरै नेविसंघलाई बदनाम गर्ने खालको आएको गुनासो नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको छ ।
‘नेविसंघले २३ असोजमा विज्ञप्ति जारी गर्दै चलाउने कुटपिटमा नेविसंघको कुनै संलग्नता नरहेको र दोषी जो देखिए पनि कारबाहीको माग गरिसकेको नै छ । त्यो नै नेविसंघको धारणा हो । तर, अहिले जुन प्रकारले पार्टीका नेता र नेविसंघलाई मुछेर समाचार आइरहेको छ, यो दुःखद छ,’ तिमल्सिनाले भने ।
नेविसंघले लगाएको ताला प्राध्यापकहरू आफैँले तोड्नु पनि गैरजिम्मेवार नै भएको उनको भनाइ छ ।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस