काठमाडौँ । माघ ३० गते प्रतिगमन तथा बलात्कारविरुद्ध काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी महिला अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ले भर्त्सना गरेको छ ।
बृहत नागरिक आन्दोलनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रतिगमनविरुद्ध भएको नागरिक प्रतिरोधमा सहभागी अभियन्ता र स्रष्टाहरुलाई लक्षित गरी सामाजिक सञ्जालबाट धम्की दिने र घृणा फैलाउने कार्यप्रति बृहद् नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको छ ।”
माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी अभियन्ता र स्रष्टाविरुद्ध दिइएको धम्की र फैलाइएका घृणाविरुद्ध बृहत् नागरिक आन्दोलन आवाज बुलन्द बनाउनेसमेत जनाइएको छ ।
“आन्दोलनका अभियन्ताहरु सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा बिष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्वीटर जस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको छ,” विज्ञप्तिमा भनिएको छ, “यसरी धाकधम्की दिने, ट्रोलिङ्ग गर्ने र साइबर दुर्व्यव्यहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिंगो नागरिक आन्दोलन निर्भयताका साथ डट्नेछ ।”
यस्ता अपराधमा संलग्नहरुबारे गम्भीरतापूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराइएको छ । “आफूलाई लागेको कुरा बोल्न पाउनु, कथा, कविता वाचन गर्न पाउनु, सभा, समारोहमार्फत् विचार अभिव्यक्त गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो,” विज्ञप्तिमा भनिएको छ, “महिलालगायत बहिष्कृतमाथि सदियौंदेखि जारी विभेदविरुद्ध आवाज उठाउन अपरिहार्य नै छ । प्रतिरोधका हरेक आवाजले समतामुलक समाज नचाहने तप्का विचलित हुने गरेका छन् । तर्कमा आधारित विमर्शमा सहभागी हुन नचाहनेहरु अभद्र र आक्रामक प्रतिक्रियामा उत्रन थालेका छन् ।”
साइबर दुर्व्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु सर्वसत्तावाद, असहिष्णुता र प्रतिगमनलाई बल पुर्याउनु भएको बृहत नागरिक आन्दोलनको ठहर छ । प्रत्येक लोकतन्त्रप्रेमी नागरिकले यसप्रति सचेत हुन र आन्दोलित हुन जरुरी भएकोसमेत विज्ञप्तिमार्फत जनाइएको छ ।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस