काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज (शुक्रबार) देखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्केका छन् । उनी पूर्वी तराईका जिल्लाको भ्रमणका लागि बिहान बुद्ध एयरको विमानबाट मोरङको विराटनगर गएका छन् ।
नेता पौडेलको फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
नेता पौडेलको आजै सुनसरीको धरान पुग्ने कार्यक्रम छ । उनले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागी भएपछि सोही उपमहानगरपालिकामा निर्माण भएको वीपी पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए ।
नेता पौडेलले शनिबार सुनसरी सदरमुकाम इनरुवामा विरोध सभालाई र आइतबार इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इटहरीमा भेटघाट सकेर पौडेल आइतबारनै सप्तरीको राजविराज पुग्ने बताइएको छ ।
उनले सोमबार सप्तरीका सबै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ । सिरहा र सप्तरीका सबै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने अधिकारीले जानकारी दिए ।
सिरहामा पौडेलले फागुन ११ गते सबै निर्वाचन क्षेत्रमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरि फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । लेखाजोखाबाट
फेसबुकबाट प्रतिक्रिया दिनुहोस